रवि लामिछानेलाई भयो के ? यस्तो आयो रिपोर्ट
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको शरीरमा भिटामिन–डीको कमी देखिएको छ। सोमबार स्वास्थ्य समस्या देखिएपछि उनलाई रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।
रगतको नमुना परीक्षणपछि चिकित्सकहरूले अन्य कुनै गम्भीर समस्या नभई भिटामिन–डी मात्र कम भएको बताएका छन्। खानपान नमिल्नु र घाममा नबस्नु यसको कारण हुनसक्ने उनीहरूको भनाइ छ।
आजै स्वास्थ्य परामर्शका लागि चिकित्सक टोली नख्खु कारागार पुग्ने तयारीमा छ।
चिकित्सकहरूको अनुसार, भिटामिन–डीको कमीले हड्डीसम्बन्धी समस्या, रोगसँग लड्ने क्षमतामा कमी, हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन्।
लामिछानेलाई तीन दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागारमा ल्याइएको हो। हाल उनी करिब चार सय कैदीबन्दी राखिएको ब्लकमा रहेका छन्।
