

मनाङका विद्यालय १ वर्षपछि खुले

मनाङ – कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै १ वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरू गर्दैगर्दा कोरोनाले एसईई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विक्रम संवत् २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।
पहुँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।
केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरू गरेका छन् । विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरू हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो ।
४ वटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ । जाडो छल्न काठमाडौं र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो हप्ता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन ।
चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरू गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको विद्यालयमा हाल २९२ विद्यार्थी छन् ।
नासो गाउँपालिका-१ तालमा रहेको भानु मावि र नासो गाउँपालिका– ५ थोंचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सञ्चालन भएका छन् । मनाङको तल्लो क्षेत्रको चामे र नासो गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए ।
उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ विद्यालयमा भने पठनपाठन शुरू भएको छैन । विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन शुरू हुने उनले बताए ।