लहानको छरापट्टी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा उपलब्ध
लहान । मुलुककै ठूलो नगरपालिका लहान नगरपालिकाको एक स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा सुरु भएको छ ।
नगरपालिकाको वडा नं. १९ स्थित छरापठ्ठी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाको नगरपालिकाका मेयर महेश चौधरी र वडाध्यक्ष कमरुद्धिन राईनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
गर्भवती महिलाको बच्चा कुन अवस्था छ, गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाबारे थाहा पाउनका लागि गाउँमा नै सेवा पाउने भएपछि स्थानीयहरु खुशी भएका छन् । साथै उक्त ग्रामीण अल्ट्रासाउण्डपछि गर्भवती महिलाहरुले अल्ट्रासाउन्ड गर्नकै लागि लहानसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको पनि लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमानन्द चौधरीले जनाए ।
साथै अल्ट्रासाउन्ड सेवाको उद्घाटनपछि मेयर चौधरीले लहान नगरपालिकाको प्रमुख लक्ष्य भनेको नगरक्षेत्रभित्रका बासिन्दालाई स्वास्थ्य र शिक्षाको सुविधा दिनु रहेको जनाउँदै ग्रामीण भेगका गर्भवती महिलाहरुलाई सेवा दिनु आफ्नो प्रमुख दायित्व रहेको समेत जनाए । गाउँमै अल्ट्रासाउन्ड सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा बच्चा जन्माउनका लागि सहयोगसिद्ध हुने समेत विश्वास मेयर चौधरीले लिए ।
त्यसका साथै नगरपालिकाले हरेक महिना वितरण गर्दै आएको गर्भवती पोषण प्याकेज पनि हस्तान्तरण गरिएको थियो ।
मेयर चौधरी र वडाध्यक्ष राईनको उपस्थितिमा लहान नगरपालिका—१९ का ४५ जना गर्भवती महिलाहरुलाई नगरपालिकाबाट पोषण प्याकेज वितरण गरिएको छ । प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मटर छन् ।