

डोल्पा डढेलोः घाइते अर्का सैनिक आशिष बुढाको पनि मृत्यु

डोल्पा । डोल्पामा डढेलो निभाउने क्रममा घाइते अर्का सिपाहीको पनि मृत्यु भएको छ । मंगलबार भएको आगलागी निभाउन जाने क्रममा घाइते भएका आशिष बुढा मगरको पनि निधन भएको जनाइएको छ । उनको नेपालगञ्ज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
यसअघि जुम्ला तातोपानी ४ स्थायी घर भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको पनि मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डोल्पा जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशरबहादुर मगरको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल लैजान आएको हेलीकोप्टर रात परेपछि सदरमुकाममै रहेको प्रहरी जनाएको छ। त्यस्तै अर्का घाइते विजय कोइरालाको उपचार भइरहेको छ ।
वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गए पछि देवीदत्त गुल्मका १६ जना नेपाली सेनाका सिपाहीहरु आगो नियन्त्रणका लागि गएका थिए । ती मध्ये यी चार जना गम्भीर घाइते भएका थिए भने अन्य १२ जना सामान्य घाइते भएका छन् ।