

सत्ता परिवर्तनः एमालेका पदम गिरी मन्त्री बन्दा रास्वपा र जसपाबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमसँगै परिवर्तन हुन लागेको मन्त्रीमण्डलमा नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसद पदम गिरी मन्त्री बन्ने भएका छन् ।
वर्तमान सत्ता गठबन्धनमा बिग्रह देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।
त्यसका लागि एमालेको तर्फबाट मन्त्रीमण्डलमा पर्वतबाट प्रतिनिधिसभामा विजयी बनेका एमाले प्रमुख सचेतक समेत रहेका पदम गिरीलाई मन्त्रीमण्डलमा पठाउने भएको छ ।
त्यसबाहेक अघिल्लो गठबन्धनका रास्वपा र जसपाका समेत एक एक जना आजै मन्त्री बन्ने निश्चित भएको छ ।
त्यसका साथै माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् ।
रास्वपाबाट पार्टी सभापति रवि लामिछाने मन्त्री बन्ने निश्चित भएको छ भने जसपाले भने निर्णय नगरिसकेको जनाइएको छ ।
बिहान बसेको रास्वपा बैठकले सरकारमा सहभागि हुने सम्बन्धमा गर्नुपर्ने निर्णयको सम्पूर्ण अधिकार पार्टी सभापति लामिछानेलाई दिइसकेको छ ।
नवनियुक्त मन्त्रीहरुले आजै साँझ सपथ लिने पनि जनाइएको छ ।