

सेनाका बढुवा भएका सहायक सेनानीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौ । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार / सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।
उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएकाहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
आजै आयोजित एक वेग्लै समारोहमा प्रधान सेनापतिले हालै पदोन्नति भएका महा सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । समारोहमा रथी, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।