

सशस्त्रको पुण्य कर्मः पशुपति दर्शनार्थीका लागि सशस्त्रले दियो ह्वीलचेयर

काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुको सहजताको लागि ह्वीलचेयर हस्तान्तरण गरिएको छ ।
नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुरुषोत्तम थापाले बुधबार पशुपति विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीलाई चार वटा ह्वीलचेयर हस्तान्तरण गरेका हुन् ।
डिआईजी थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व रहेको बताए ।
जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरुको सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरिएको हो ।
साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरु विछ्याई जिर्णोद्धार समेत गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपतिलगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।