

सेनाका लेसनायक कार्कीको आफैं ‘लडेर मृत्यु’ भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकमा शनिबार मृत अवस्थामा फेला परेका थिए चन्द्रागिरि घर भएका सुमन कार्की । २६ वर्षीय सुमन नेपाली सेनाको लेस नायक हुन् ।
जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत कार्कीको ‘लडेर मृत्यु’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । घटनास्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरामा सुमन हिँड्दै गरेको अवस्थामा लडेको देखिएको छ । घोप्टो परेको अवस्थामा उनी लडेको क्यामरामा देखिएको र त्यही अवस्थामा शव फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
सुमनको मोबाइल घटनास्थलमा भेटिएको छैन । सुमन मृत अवस्थामा भेटिएको स्थानमा बिजुलीको पोलमा एउटा कागज टाँसेको भेटिएको छ । कागजमा लेखिएको छ–‘विनोद रेष्ट इन पिस ।’
सो नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । ढुंगेलले भने,‘मृतको नाम र नोटमा उल्लेखित नाम फरक छ, हामी त्यसबारे अनुसन्धान गरिरहेका छौँ ।’
आफन्तकोमा आयोजित भोजमा सहभागी भएर सुमन काठमाडौँ महानगरपालिका–१३ स्थित दरबार बैंक्वेट अगाडि हिँड्दै आएको अनुसन्धानबाट थाहा भएको छ । त्यसदिन उनले मापसे गरेको आफन्तहरूले प्रहरीलाई बताएका छन् । ‘घटनास्थलमा साँझ ८ बजे उनी हल्लिँदै हिँडेको र लडेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘अहिलेसम्मको अनुसन्धानमा घटना शंकास्पद देखिएको छैन ।’