

सशस्त्र प्रहरीका पूर्वसिपाहीको दशगजामा हत्या

बारा । बाराको पिपरपाती नजिककै नेपाल–भारत दसगजामा सशस्त्र प्रहरीका एक पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो ।
हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । मृतकको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट लागेको प्रहरीले बताएको छ ।
घटनाबारे भारतीय समकक्षी सुरक्षा निकायसित समन्वय गरी गहिरो अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । प्रारम्भिक अनुसन्धानबाट भारतीय र नेपाली मदिरा व्यापारीहरू मिलेर रिसइबीले हत्या गरेको बुझिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । घटनापछि घटनास्थल आसपास क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।