

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ, अर्का कर्मचारी फरार

जानकी (बाँके) । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।