१६ वर्षमा पेन्सनको ‘आश’ मरेपछिको वितृष्णा– ‘अब कोरियन भाषा पढ्ने हो’



भीमबहादुर मगर

सीमा सुरक्षा बलमा कार्यरत ३३ वर्षे भीमबहादुर (नाम परिवर्तन) ले जागिर खाएको १३ वर्ष पुग्यो । सुरक्षा निकायका तल्ला तहमा १६ वर्षमा पेन्सन पाइने भन्ने सुनेका भिमबहादुर पछिल्लो समय निराश छन् । गृहमन्त्रालयको १६ वर्षे पेन्सनलाई अर्थमन्त्रालयले असहमति जनाएपछि उनले अब जागिर छाड्ने सोच बनाएका छन् । उनले अहिलेसम्म जागिर खाएर आफू पालिन भन्दा अन्य काम गर्न नसकेको गुनासो गर्दै भीमबहादुरले अब छोरा छोरी र परिवारका लागि भए पनि वैदेशिक रोजगारमा जाने तयारी गरेका छन् ।

उनले आगामी असोजमा हुने कोरियन भाषा परिक्षाका लागि भाषा पढ्न थालिसकेका छन् । तर, जागिर खाँदै गरेकोले काठमाडौं गएर पढ्ने उनको चाहना भने चाहनामै सीमित भएको छ । उनले सरुवाका लागि पहल गरे पनि सन्तोषजनक आश्वासन भने कतैबाट पाउन सकेका छैनन् । उनले अहिले ड्युटीको समयभन्दा अन्य समय इन्टरनेटकै माध्यमबाट कोरियन भाषा सिकिरहेको बताए ।

सुधन शर्मा

नेपाल प्रहरीका जवान सुधन (नाम परिवर्तन) को पोस्टिङ राजधानीमै छ । जागिर खाएको ९ वर्ष पुगिसकेको छ । काठमाडौंमै डेरा लिएर ड्युटी गरिरहेका सुधनले पनि अहिले कोरियन भाषा पढ्न थालेका छन् । ड्युटीको समय मिलाएर सुधनले अहिले दैनिक डेढ घन्टा कोरियन भाषाका लागि समय छुट्याईरहेका छन् । उनले आफूले पाउने तलबले त काठमाडौंमा कोठाभाडा तिर्न र खान मात्रै पुग्ने बताउँदै ‘न कमाई छ, न त भविष्य नै’ भन्छन्। स्नातकसम्म पास गरेका उनले २ पटकसम्म असईका लागि जाँच दिए पनि नाम निकाल्न नसकेको बताउँदै अब भने विकल्प सोच्ने बेला भएको बताए । उनले भने ‘अझै ७ वर्षमा पेन्सन हुन्छ भन्ने आश थियो अब त्यो पनि मरेर गयो, २/३ वर्ष अगाडी नै जागिर छाडेर विदेश जानु पर्ने रैछ । उनले जागिर खाँदाको अवधिसम्म त ठिकै भएको बताउँदै भविष्यका लागि केही गर्न नसकिने बताए । गाउँमा उनीसँगै प्रहरीमा भिडेर पास हुन नसकेकाहरु अहिले कोरियामा महिनाकै लाखौं कमाएर काठमाडौंमै घर किनिसकेको बताउँदै आफूलाई भने महिना मार्नै गाह्रो भएको बताए । उनले अब जसरी पनि कोरियन भाषा पढ्ने र नाम निकालेरै छाड्ने अठोट लिएको समेत बताए

यी दुई पात्र अहिलेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि पात्र हुन्, जसले तल्लो तहमा रहेर देशका सेवा गरिरहेका छन् । उनीहरुलाई २० वर्षमा प्रहरीमा प्रवेश गरेको युवकले ३६ वर्षमा पेन्सन पकाइसकेपछि आर्थिकरुपमा सक्षम हुनका लागि अनेक सपना देखेको हुन्छ । पेन्सन पनि पाक्ने र त्यसपछि भविष्य बनाउनका लागि वैकल्पिक आयआर्जनको बाटो खोज्न सकिने समयावधि रहने भएकोले संगठन प्रवेश गरेकाहरु अहिले अर्थमन्त्रालयको पछिल्लो निर्णयसँगै वितृष्णामा रुमलिन थालेका छन् ।

अधिकांश तल्ला तहका प्रहरीहरु ३७ वर्षमा पेन्सनसहित अवकाश लिएर वैदेशिक रोजगारको सपना देखिरहेका बेला अर्थमन्त्रालयको उक्त असहमतिसँगै अहिले नै जागिर छाडेर सुरक्षित भविष्यका लागि विदेशिने सोचमा रहेका देखिन्छन् ।

पछिल्लो समय नेपालमा बढ्दै गइरहेको महंगीका कारण परिवार पाल्नकै लागि पनि विदेश जानुपर्ने बाध्यता रहेको छ । त्यसैकारण अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैमा तल्ला तहका कर्मचारीहरु निराश देखिएका छन् । पेन्सन पाकिसकेपछि विदेश जानका लागि उमेरले साथ नदिने हुँदा कतिपय जागिर छाडेरै भए पनि विदेश जाने सोचमा रहेको बताउँछन् ।

तर, कतिपयले भने आशा मारेका छैनन् । उनीहरुले सेनामा १६ वर्षे पेन्सन लागू हुँदा सशस्त्र र प्रहरीमा पनि सोही नियम लागू हुने आशा राख्दै कुरा उठेको छ अझै १/२ वर्ष कुर्ने बताउँछन् । नाम नबनाउने शर्तमा एक प्रहरी भन्छन्, ‘अहिले गृहमन्त्रीले बल गरेको हो, विस्तारै कुरा उठेको छ, अझै १/२ वर्ष यहीँ जागिर खाएर हेरौं, भएन भने त्यसपछि प्रोसेस चाल्नुपर्ला ।’

पछिल्लो समय सशस्त्र प्रहरी बलका कर्मचारीहरुले भने केही आशावादी देखिएका छन् । लामोसमयदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि बढेसँगै उनीहरुमा आशाको सञ्चार देखिएको हो । भर्खरै मात्र १९२७ जनाको बढुवा निस्किएको र अबको १/२ दिनमै करिब ४ हजार जवानहरुको बढुवाको सूची निस्कने ‘हल्ला’ सुनिएसँगै बढुवाका आशाले केही कर्मचारीहरु आशावादी देखिएका छन् ।

तर, नेपाल प्रहरीमा भने पछिल्लो समय झन् निराशा देखिएको छ । त्यसको मुख्य कारण बढ्दो महंगीका कारण परिवारको पालनपोषणका लागि भएको कठिनाई मुख्य रुपमा देखिएको छ ।

त्यसैले सरकारले राजधानीलगायतका महंगी बढी भएका सहरहरुमा प्रहरीलाई आवासका लागि केही सुविधा दिनका साथै उनीहरुको सन्तानको अध्ययनका लागि केही हदसम्म भए पनि सहुलियत दिन सकेको खण्डमा उनीहरुको वितृष्णा केही हदसम्म घट्ने थियो । त्यसका लागि संगठनले पनि पहल गर्नुपर्ने देखिन्छ ।