

प्राधिकरणको लापरबाहीले गड्यौलीकी निर्मलाले गुमाइन् करेन्ट लागेर ज्यान

तनहुँ– नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण कैयौं दुर्घटनाहरु हुने गरेका छन् । प्राधिकरणले बिजुलीका तारहरु व्यवस्थित नबनाउँदा कतिपय सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।
हालैमात्र काभ्रेमा आफ्नै कर्मचारीले काम गरिरहेको तारमा करेन्ट छाड्दा भएको घटना होस् वा जिपमा लागेको करेन्टका कारण घटेको घटना होस्, ती सबैमा प्राधिकरणको लापरबाही देखिएको छ ।
पछिल्लो समय यस्तै घटना तनहुँको गड्यौलीटारमा पनि घटेको छ । जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक छात्राले ज्यान गुमाउन विवश भएकी छिन् ।
सोमबार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमालको मृत्यु भएको जनाइएको छ । विद्युतीय तार टाङ्गने क्रममा तार नजिकका रुखहरु नकाट्दा यो घटना भएको स्थानीयहरुले जनाएका छन् ।
कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् ।
कुमालको बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।