‘नाइट’मा उपत्यका बाहिरिने योजनामा हुनुहुन्छ ? ख्याल गर्नुहोस् भोलीदेखि साढे चार घन्टा बाटो बन्द हुँदैछ



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु(मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ ।

मलेखु—मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

डीएसपी हमालका अनुसार निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सवारीसाधन बन्द गर्नु परेको हो ।

उल्लेखित ती दिनमा राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यक सवारी बाहेक) बन्द हुने सूचनामा उल्लेख छ ।

सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ ।

यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछ ।

ती स्थानमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने सूचनामा उल्लेख छ ।

त्यसैले रातीमा उपत्यका बाहिर जाने योजना बनाउँदै हुनुहुन्छ भने अलि ख्याल गरेर हिँड्नु होला ।