सशस्त्र एसएसपी बढुवाका लागि चलखेल !

बरिष्ठता र कार्यक्षमतालाई नै आधार बनाउन आईजी अर्याल दृढ



काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थपिएसँगै रिक्त रहेको १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि चलखेल सुरु भएको छ ।

१२ पदका लागि मुख्य रुपमा २०७५ ब्याजका १९ जना प्रतिस्पर्धी रहेकोमा बरिष्ठताको आधारमा बढुवा गर्दा आफूहरु नपर्ने सम्भावना रहे पनि चलखेल सुरु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले बरिष्ठताका आधारमा बढुवा सिफारिस गर्ने मनशाय राखेपति कतिपय प्रहरी अधिकृतहरु भनसुन र राजनीतिक भेटघाटमा लागेको जनाइएको छ ।

बढुवा समितिले बढुवाका लागि आवेदन आह्वान गरेर समयावधि सकिइसकेको अहिलेको अवस्थामा बढुवा सिफारिसको तयारी गरेको छ । तर, केही एसपीहरुले बढुवाका लागि राजनीतिक नेतृत्वको घर दैलो चहारेको जनाइएको छ ।

बढुवाका लागि  २०७५ चैत १५ गते एसपी भएको समूह सिनियर भए पनि त्यसभन्दा पछि २०७७ जेठ २४ गते एसपी भएकाहरूको समूहले पनि आवेदन दिन पाउने भएपनि सशस्त्र एसएसपीका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७५ को ब्याचकै १९ जना एसपीहरु बढुवाको मैदानमा रहेका छन् । यसअघि सशस्त्रमा बढुवाका लागि आवेदन दिएको २ दिनभित्र बढुवा सिफारिस आईसक्नेमा यसपटक ५ दिन कटिसक्दा पनि सिफारिस नआउनुले राजनीतिक चलखेल भएको स्पष्ट भएको छ ।

सशस्त्रमा १२ वरिष्ठ उपरीक्षकका लागि १९ प्रहरी उपरीक्षकले आवेदन दिएका छन् । सशस्त्र प्रहरी उपरीक्षकहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनिया, ध्रुव कार्की, रमेश पाण्डे, तीर्थराज पौडेल,रविनराज करन्जीत,विरसिंह साहु, जनक पुरी,नेत्र कार्की, सूर्य सेन ओली, तेजप्रसाद पोख्रेल, यादव विक, विकाश घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, अशोक बम, जहरसिंह बोहोरा र बिरेन्द्र ऐरले बढुवाका लागि आवेदन दिएका छन ।

यी बाहेक पछिल्लो टोली २०७७ जेठ २४ का केहिले समेत आवदेन दिएपनि उनीहरूको बढुवा हुने सम्भावना न्यून रहेको छ । अघिल्लो ब्याचकै ७ जना छुट्ने निश्चित भएको अवस्थामा पछिल्लो ब्याचबाट बढुवा भएमा राजनीतिक चलखेल भएको स्पष्ट हुने पनि सशस्त्रका एक पूर्व बरिष्ठ अधिकारी बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म सशस्त्रमा राजनीतिभन्दा पनि संगठनले दक्षता र बरिष्ठतालाई नै आधार बनाएर बढुवा गरेको इतिहास छ, अब पनि पक्कै त्यस्तै होला ।’

यदि सशस्त्रको इतिहासभन्दा बाहिर गएर बरिष्ठता बाहिरका व्यक्तिहरु बढुवा भएमा विवाद सिर्जना हुने महसुस गर्दै आईजी अर्यालले बरिष्ठता र कार्यक्षमतालाई नै आधार बनाउन अडिग रहेको जनाइएको छ ।