

रविको प्रश्न- क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणले भन्सार, सुरक्षा प्रमुखलगायतले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सुन तस्करी प्रकणमा मुछिएका सरकारी कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका उनले भने, ‘जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?’
तस्करी तथा भ्रष्टाचारको काण्डमा सामान्य व्यक्ति पक्राउ पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय मिलेको उनको भनाइ छ । यदी सुन तस्करी तथा भ्रष्टाचार प्रकरणलाई निष्कर्षमा नपु¥याए सरकारको दिनगन्ती सुरु हुने उनको चेतावनी दिए ।