

यसरी गरेका थिए यी आमा–छोराले बरिष्ठ सई पौडेलको हत्या !

बाग्लुङ । इलाका प्रहरी कार्यालय भीमगिठ्ठे, बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेलको हत्या गरेको पुष्टी भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान २ बजेतिर बागलुङको बडिगाड गाउँपालिका–६ स्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका सई पौडेलको होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले कुटपिटपछि हत्या गरेको प्रारम्भिक अनुन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार वरिष्ठ सई पौडेल सोमबार राति ८ बजेतिर आशा होटल एण्ड खाजा घरमा गएका थिए। खाजा घरमा सञ्चालक आशा कुँवरसँग विवाद भएको देखिएको डीएसपी केसीले जनाएका छन्।
विवादका क्रममा आमा–छोरा मिलेर वरिष्ठ सईलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि भुइँमा ढलेका पौडेलको घाँटीमा पर्दाको कपडाले कसेर राति साढे ८ बजेकै समयमा हत्या गरिएको देखिएको डीएसपी केसीले जानकारी दिए।
उनीहरुले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेको पाइएको प्रहरीले जनाएको छ। सई पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको किचन र्याकमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका आमा–छोराविरुद्ध कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
मृतक पाैडेलको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम गरिसकिएको छ । त्यसको विस्तृत विवरण भने अनुसन्धानकै क्रममा रहेकोले सार्वजनिक गरिएको छैन ।