चारवर्षदेखि परिवारसँग बिछोडिएकी शर्मिलाको उद्धार, एनआरएनए इन्डियानाको पहलमा नेपाल पठाइँदै



इन्डियाना । लामो समयसम्म अमेरिकामा परिवारसँग विछोडिएर होम सेल्टरमा बस्दै आएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।

एनआरएनए इण्डियाना च्याप्टरका पूर्व अध्यक्ष खेमराज खतिवडा, नेप्लीज एसोशिएसन इण्डियानका वर्तमान अध्यक्ष चन्दनराज रुपाखेती र नवनिर्वाचित अध्यक्ष शिवहरी बाबु खत्रीको पहलमा झापा घर भई हाल अमेरिकाको इण्डियाना राज्यको एक सेल्टर होममा बस्दै आएकी शर्मिला सापकोटाको उद्धार गरिएको हो ।

करिब १५ वर्षदेखी अमेरिका बस्दै आएपनि सापकोटा विगत चार वर्षदेखी परिवारसँग विछोडिएर सेल्टर होममा बस्दै आएको थाहा पाएपछि एनआरएनए इण्डियाना च्याप्टर र नेप्लीज एसोशिएसन इण्डियानका पदाधिकारीहरुको पहलमा उद्धार भएको हो ।

परिवारसँग विच्छेद भएर सेल्टर होममा बसेको थाहा पाएपछि उनको उद्धारका लागि खतिवडा र रुपाखेतीको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो ।

इन्डियाना राज्यमा बस्ने नेपाली परिवारहरुको आर्थिक सहयोग मार्फत सापकोटालाई नेपाल फर्काउन प्लेन टिकटको व्यवस्था गरिएको र उनि बसेको सेल्टर होममा पुगेर खतिवडा र रुपाखेतीले आर्थिक सहयोग हस्तान्तरण गरेको एनआरएनए इण्डियाना च्याप्टरका नवनिर्वाचित अध्यक्ष खत्रीले बताए ।