

को हुन् त साउदीको अमेरिकी वाणिज्य दूताबास अगाडि ज्यान गुमाउने नेपाली ?

काठमाडौं । साउदीको जेद्दामा बुधबार भएको आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको पहिचान खुलेको छ।
अधिकारीहरूका अनुसार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा ५९ वर्षीय नैनसिंह नेपालीको मृत्यु भएको हो।
उनी हाल रूपन्देहीको तिलोत्तमा बस्दै आएको तर सरकारी विवरणमा उनको जन्मस्थान बागलुङ रहेको अधिकारीहरूले बताएका छन्।
उनका छोरासमेत हाल रियादमा कार्यरत रहेको बताइएको छ। उनको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको साउदी अरबस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
ईदका कारण त्यहाँका सरकारी निकायहरू बन्द रहेकाले नेपालका निकायहरूले सोझै अमेरिकी वाणिज्य दूतावासमा सम्पर्क गरेर मृतकबारे जानकारी लिएका थिए। अधिकारीहरूका अनुसार मृतक सुरक्षा गार्ड आबद्ध कम्पनीसँग सम्पर्क गर्ने पहल अघि बढाइएको छ।
बुधबार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहानमा एक जना सन्दिग्ध आक्रमणकारीको समेत मृत्यु भएको थियो।
अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरू गरेका छन्।