

नेपाली सेनाका ५ जना पुगे सगरमाथा, फर्कने क्रममा बिरामी क्याप्टेन खत्रीको उद्धार

काठमाडाैं । नेपाली सेनाका ५ जनाको सैनिक टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । सोमबार बिहान लेफ्टिनेन्ट कर्णेल किशोर अधिकारीको नेतृत्वको टोलीले सगरमाथा आरोहण गरेको जनाइएको छ ।
आरोहणपछि ओर्लने क्रममा बिचैमा बिरामी परेका क्याप्टेन दीपेन्द्रसिंह खत्रीलाई उद्धार गरिएको छ ।
उनी आरोहणपछि ओर्लने क्रममा बिरामी परेपछि शेर्पा आरोहीहरूको समूहले उनको उद्धार गरेको हो।
सगरमाथाको चुचुरोमा पुगेपछि ओर्लने क्रममा ८ हजार मिटरभन्दा माथि नै उनी बिरामी परेका थिए। आरोहण टोलीका अन्य सदस्यहरू भने आरोहणपछि सकुशल तल्लो शिविरमा ओर्लिएका थिए।
लेफ्टिनेन्ट कर्णेल अधिकारीको नेतृत्वमा सफा हिमाल अभियानअनतर्गत सगरमाथा र ल्होत्से सरसफाइमा खटिएका पाँच जना सैनिक टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका थिए।
उनीहरूसँगै पाँच जना शेर्पा आरोहीहरूले पनि एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए।