नेपाली सेनाले गर्यो चट्याङ लागेको चार दिनपछि घाइते ३ को उद्धार

दार्चुला । यार्सागुम्बा संकलनका लागि जाँदा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि मंगलबार बिहान नेपालगन्ज पठाइएको छ।

व्याँस गाउँपालिका– २ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका– २ का १८ वर्षीय महेश बडाल, वडा नं. १ पिपलचौरीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती महरालाई उद्धार गरी नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

शनिबार राति पाटनमै चट्याङ पर्दा उनीहरू घाइते भएका थिए। स्थानीय यार्सागुम्बा संकलकहरूले आधाबाटोसम्म बोकेरै ल्याएका थिए। उद्धारका लागि सोमबार हेलिकाेप्टर आए पनि मौसमको खराबीका कारण माथि जान सकेको थिएन।

घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ । बाटो पनि अप्ठ्यारो भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि आधाबाटोसम्म मात्रै पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *