

प्रहरीलाई खुशीको खबर, पाउने भए रोकिएको तलब

काठमाडौँ । नेपाल प्रहरीले गएको वैशाखदेखि आउँदो असारसम्म नपाउने भनिएको तलबको समस्या समाधान भएको छ ।
सरकारले ‘अर्थ बजेट’बाट रकम निकासा गरेपछि समस्या समाधान भएको हो ।
बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि उनीहरूलाई एकै पटक आउँदो साउनमा तलब दिइने बताइएको थियो ।
चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकम बराबरको बजेट नआएकाले समस्या भएको थियो । रकम अभावमा चैत महिनाकै पनि सबै प्रहरीले तलब सुविधा पाएका थिएनन् ।
प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजार जना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको थियो ।