पूजाका लागि पशुपति जाँदै राष्ट्रपति पौडेल
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । पौडेल बिहान ९ बजे पशुपति पुगेर पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।
त्यसपछि राष्ट्रपति पौडेल आज सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।
त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचित भएलगत्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।
निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउँदैछ । त्यसपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुनेछ ।
२८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणको मिति तय गरिने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले जानकारी दिए ।
संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् । त्यसपछि निवर्तमान राष्ट्रपति विद्यादेवीलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवासमा पुर्याइने छ ।