

शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय सरकार प्रतिबद्धः उपप्रमुख राना

पर्वत । पैयूँ गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी रानाले पैयूँको शैक्षिक गुणस्तर वृद्धि गर्ने सवालमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
शुक्रवार पैयूँ गाउँपालिकाको वडा न ५ को श्री क्यामुने भञ्ज्याङ माध्यमिक बिद्यालयको ४६औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उपाध्यक्ष रानाले सामुदायिक तथा सरकारी विद्यालय शैक्षिक गुणस्तर वृद्धिका लागि आफुहरु सवैसँग समन्वय एवं सुझाव लिएर अगाडि बढिरहेको बताईन् ।
विद्यालयमा सम्पादन भइरहेको हरेक क्रियाकलापलाई जवाफदेही बनाउन स्थानीय सरकारले विद्यालय अनुगमनको कार्य समेत थालनी गरेको समेत उपाध्यक्ष रानाको धारणा थियो । विद्यालयको पूर्वाधारदेखि अन्य समस्यालाई समाधान गर्दै शैक्षिक संस्थालाई व्यवस्थित बनाउने अभियानमा गाउँपालिका प्रतिवद्व रहेको उपाध्यक्ष रानाले सो अवसरमा उल्लेख गरेकी थिईन् ।
आवासीय विद्यालयको अवधारणलाई कसरी प्रभावकारी रुपमा अगाडि बढन सकिन्छ भन्ने बिषयमा छलफल चलिरहेको बताउँदै रानाले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताईन् । पैयूँमा प्राविधिक शिक्षाको अवधारणालाई कसरी प्रभावकारी क्रियान्वयमा ल्याउन सकिन्छ भन्ने सन्दर्भमा समेत सरोकारवाला पक्षसँग आवश्यक कार्ययोजनाबारे छलफल चलिरहेको बताउँदै उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको प्रबन्ध भएलगत्तै सञ्चालनमा आउने बताईन् ।
श्री क्यामुने भञ्ज्याङ माध्यमिक विद्यालयले शैक्षिकलगायत अन्य विविध विधामा देखाएको व्यवस्थापकीय कौशलता एवं सो विद्यालयका विद्यार्थीको प्रतिभा तथा योग्यतामा देखिएको निखार प्रशंसनीय रहेको उपाध्यक्ष रानाले बताइन् । विद्यालयको पूर्वाधार निर्माण देखि विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यका लागि विशिष्ट योग्दान गर्ने सम्पूर्ण जग्गादाता एवं अक्षयकोष स्थापना गर्ने सबैलाई उनले सो अवसरमा बधाई तथा धन्यवाद ज्ञापन समेत गरेकी थिईन् ।