

बौंदीकाली गाउँपालिका प्रमुख रानाद्वारा १५ शैयाको अस्पताल भवनको शिलान्यास

नवलपुर । नवलपुरको बौंदीकाली गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख दुर्गाबहादुर रानाले रकुवा प्राथमिक स्वास्थ्य केन्द्रपरिसरमा एक समारोहबीच उक्त अस्पतालको शिलान्यास गरेका छन् ।

बौंदीकाली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बालप्रसाद ठाडाको अध्यक्षतामा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले यस स्वास्थ्य केन्द्रलाई नमुना बनाउनका लागि गाउँपालिकाले पहल गर्ने बताए ।
‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आवकस्मिक स्वास्थ्य सेवावाट बञ्चित गरिनेछैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’, भन्ने अभियानका साथ देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्न लागिएको छ ।




