

बौंदीकालीमा बन्ने भयाे १५ शैयाको अस्पताल, आज शिलान्यास हुँदै

नवलपुर । बौंदीकाली गाउँपालिकामा १५ शैयाको अस्पताल आज शिलान्यास हुँदैछ । सरकारले देशभरका ३९६ नगरपालिका र ७ प्रदेशमा एकैदिन शिलान्यास गर्ने घोषणासँगै बौंदीकालीको डेढगाउँमा शिलान्यास हुने भएको हो ।
नवलपुरका बौंदीकालीसँगै गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकामा पनि आजै १५÷१५ शैयाको अस्पताल शिलान्यास हुने भएको छ ।
यससँगै मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । नेपालमा कुनै पनि क्षेत्रमा एकैपटक यति धेरै निर्माण सुरु एवं शिलान्यास हुन लागेको पहिलोपटक हो ।
३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो ।
पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।
बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।
सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा बमोजिम सातवटै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल भवनको पनि शिलान्यास गर्नेछ ।
सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो ।
अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन् ।