मानपुर–डेढगाउँ सडक पिच सुरु, अर्थमन्त्री गुरुङद्वारा आज शिलान्यास हुँदै



नवलपुर । नवलपुरको बौंदीकाली गाउँपालिकाको वडा नं. २ स्थित डेढगाउँसम्मको सडक पिच हुने भएको छ । तनहुँको भिमादबाट मानपुर हुँदै डेढगाउँसम्म आइपुग्ने श्रृंगकाली मोटरमार्गको पिच कार्यको बिहीबार शिलान्यास हुँदैछ ।

उक्त सडक खण्ड अन्तर्गतको मानपुरबाट पिच सुरु गर्ने कार्यको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

२०६० सालभन्दा अगाडिदेखि मोटर चल्न थालेको उक्त सडक अहिलेसम्म कच्ची सडककै रुपमा रहेको छ । वर्षायाममा हिलोका कारण उक्त सडक प्रयोग गर्ने नवलपुरका डेढगाउँ, रकुवा, रुचाङ, मिथुकरमका साथै पूर्वी पाल्पाका साथै तनहुँकै दक्षिणी भेगका जनताहरुले अब सुविधा पाउने देखिएको छ ।

प्रदेश राजधानी पोखरासँग तराई जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको उक्त सडक पिच भए पछि नवलपुरका तराई भागका जनताले प्रदेश राजधानीसम्म जानका लागि आप्mनै प्रदेशको बाटो भएर जान सक्ने अवस्था आएको छ ।

तनहुँको भिमादबाट २२ किलोमिटरमात्र रहेको डेढगाउँसम्मका लागि यसअघि कच्ची सडक हुँदा डेढ देखि २ घन्टा लाग्ने गरेकोमा अब समयसँगै भाडाको पनि बचत हुने भएको छ ।