लहानमा निःशुल्क आँखा जाँच शिविर
लहान । सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. २४ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
लहान नगरपालिकाको वडा नम्बर २४ मा नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको नगरपालिकाका मेयर महेश चौधरीले जनाए ।
उक्त शिविरमा ३३५ जनाले आँखा जाँच गराएकोमा ९९ जनामा मोतिविन्दु देखा परेको पनि जनाइएको छ ।
ती बिरामीहरुको निःशुल्क अपरेशन गरिने पनि उक्त अवसरमा जानकारी दिइएको थियो ।
मेयर चौधरी, वडाध्यक्ष रासलाल रायलगायतको उपस्थिति रहेको उक्त शिविरमा आँखा जाँच गरेका बिरामीहरुलाई विभिन्न औषधीहरु पनि उपलब्ध गराइएको थियो ।
