सहिद चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्न घरमै पुगे लहान मेयर चौधरी
लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका विजय चौधरीको घरमा पुगेर श्रद्धाञ्जली दिएका छन् । मेयर चौधरीले नगरपालिकाको कार्यपालिका बैठकबाट शहीद चौधरीको परिवारलाई तत्काल १ लाख नगद दिने निर्णय गरिएको समेत उक्त अवसरमा परिवारका सदस्यलाई जानकारी दिए ।
लहानको हरेक दुःखीको सहारा बन्दै आएको लहान नगरपालिकाले जेन्जी आन्दोलनका क्रममा मुलुकका लागि बलिदान दिएका सम्पूर्ण प्रति श्रद्धाञ्जली अर्पण गर्दै लहानकै छोराले वीरगति प्राप्त गरेको जनाउँदै उक्त सहयोग गरेको मेयर चौधरीले जनाए । साथै नगरपालिकाले शहीद चौधरीकी छोरी प्रियंशीलाई कक्षा १२ सम्मको पढाई खर्च र श्रीमती उर्मिला चौधरीलाई योग्यता अनुसारको नगरपालिकामा रोजगार दिने निर्णय कार्यपालिकाले गरेको पनि बताए ।
मेयर चौधरीले सहीद चौधरीको घरमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै एक क्विन्टल चामल, नुन र तेल राहतस्वरुप हस्तान्तरण समेत गरेका थिए ।
लहान—१५ ढोडनाका विजय चौधरीको जेनजी प्रदर्शनका क्रममा गोली लागि निधन भएको थियो ।
