उपमेयरको मनपरी: मल वितरण रोकिँदा किसान मलविहीन

उपमेयर महतोले माइन्यूट च्यातेपछि वडाध्यक्षले गरे उपमेयरको कार्यकक्षमा तालाबन्दी

सिराहा । लहान नगरपालिकाका उपमेयरले कार्यपालिकाको निर्णय नै च्यातिदिएका छन् ।

कार्यपालिकाको हालैको बैठकले किसानलाई उपलब्ध गराइने मल सम्बन्धित वडाबाटै मल वितरण गर्ने निर्णय गरेपछि उपमेयर रामचलितर महतोले निर्णय च्यात्दै असन्तुष्टी जनाएका हुन् ।

उपमेयर महतोले किसानहरुलाई उपलब्ध गराईने कृषि मल कोटा प्रणाली खारेजको निर्णयमा असन्तुष्टी जनाउँदै प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा ताला समेत लगाएको जनाइएको छ ।

यसअघि नगरकार्यपालिकाको निर्णयले लहानमा कृषकलाई वितरण गरिने मलमा रहेको कोटा प्रणाली खारेज गरी सम्बन्धित वडाबाटै मल वितरण गरिने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णयलाई उपमेयर महतोले च्यातेपछि नगरपालिकामा विवाद उत्पन्न भएको थियो । उक्त विवादपछि उपमेयर महतोले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा समेत ताला लगाएको जनाइएको छ ।

किसानहरुको धान खेतीका लागि मलको आवश्यक पर्ने बेलामा उपमेयरले मल वितरणसम्बन्धी कागजातमा हस्ताक्षर नगरी च्यातिदिएपछि विवाद उत्पन्न भएपछि केही वडाध्यक्षहरुले विज्ञप्ति नै निकालेर उपमेयरको उक्त कार्यको विरोध गर्दै उनको कार्यकक्षमा पनि ताला लगाएका थिए ।

उपमेयर महतोमाथि किसानहरुलाई वितरण गरिने रासायनिक मलमा कोटा माग गरेको भन्ने आरोप लागेको छ । कोटा प्रणालीमा नै मल वितरण गर्नुपर्छ भन्ने उपमेयर महतोको मागप्रति वडाध्यक्षहरुले असन्तुष्टी जनाएका हुन् ।

उपमेयर महतोले प्रमुख प्रशासकीय अधिकृत झामाथि गम्भीर आरोप समेत लगाएका छन् । उनले प्रशासकीय प्रमुख झा भ्रष्ट रहेको जनाउँदै स्थानीय निकायको काम नै गर्न नआउने अधिकृत भएको समेत आरोप लगाए । झाले २ वर्षभन्दा बढी समयदेखि कार्यकारी प्रमुखको जिम्मेवारी बहन गर्दै आइरहेका छन् ।

उपमेयर महतोले अधिकृत झाले भ्रष्टाचार गर्नेबाहेक अन्य कुनै पनि काम नगर्ने समेत आरोप लगाएका थिए । उपमेयरले आफ्नो कार्यकक्षमा ताला लगाइएको जनाउँदै कार्यकक्षको बाहिर महिला नगर प्रहरी तैनाथ गरिएको जनाए । उनले महिला भएकै कारण उनीहरुलाई ‘छुन नमिल्ने’ जनाउँदै यदि पुरुष नगरप्रहरी भएको खण्डमा जबर्जस्ती गर्ने आशयको समेत अभिव्यक्ति दिएका थिए ।

नगरपालिकामा यस किसिमको विवाद भएपछि यतिबेला किसानहरुले मल पाउन सकेका छैनन् । धानलाई अत्यावश्यक भइसकेको बेला मल पाउन नसकेपछि किसानहरुले मलको माग गर्दै नगरपालिका कार्यालय परिसरमा नाराबाजी गरेका छन् ।

घटनाबारेमा उपमेयर महतो र प्रशासकीय प्रमुख झासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

 

घटना के थियो ?

लहान नगरपालिकाको कार्यपालिका बैठकबाट मल खाद्य वितरणका लागि कोटा खारेज गर्ने कार्यपालिकाको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत र वितरण समितिका सदस्य सचिव कृषि शाखा प्रमुख कागजात तयार गरि डिलरहरुलाई परिमाण तोकेर सिफारिस गर्ने तयारी गरेका थिए ।

कार्यपालिकाको निर्णयअनुसार उपमेयर महतोसमक्ष कागजात लिएर कृषि शाखाका कर्मचारी पुग्दा उपमेयर महतोले कागजात च्यातिदिएका थिए । उक्त अवसरमा उपमेयर महतोले गाली बेईज्जति गर्दै केही व्यक्तिहरुको हुल लगेर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

मल खाद्य वितरण उपमेयरले विवाद गरेपछि किसानहरु मल पाउनबाट बञ्चित हुनु परेको अवस्था सृजना भएको वडाअध्यक्षहरुको भनाइ छ ।

उपमेयर महतोले कार्यपालिकाको निर्णयलाई उल्लघंन र वडाध्यक्षहरुको मर्यादामा आँच पुगेको जारी भएको विज्ञप्तिमा उल्लेख छ । वार्ता र संवादबाट समस्या समाधान नभएसम्म तालाबन्दी नखुल्ने वडाध्यक्षहरु बताए । मलका लागि कृषि सामग्री कम्पनीलाई नगरपालिकाले डिलरलाई परिणाम तोकेर सिफारिस गर्ने र डिलरहरुले वडाध्यक्षको सिफारिसमा किसानहरुलाई बाँड्ने प्रावधान रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *