बौंदीकालीको शैक्षिक क्रान्ति: जिल्लाकै उत्कृष्ट स्थानीय तह, एसईईमा ८७.६९% उत्तीर्ण

नवलपुर । बौंदीकाली गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आफ्नो विद्यालयहरूको नतिजामा ऐतिहासिक सुधार ल्याउँदै जिल्लामै उत्कृष्ट स्थान हासिल गरेको छ। यस वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) मा गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालयबाट सहभागी भएका १३० जना विद्यार्थीमध्ये ११४ जना अर्थात ८७.६९ प्रतिशत विद्यार्थी सफल भएका छन्।

गत वर्ष (शैक्षिकसत्र २०८०) मा मात्र ५३ प्रतिशत विद्यार्थीलाई उतिर्ण गराउन सफल गाउँपालिकाले यसपालि झण्डै ३५ प्रतिशतले नतिजा उकास्दै शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को मारेको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले मात्र तीन वर्षभित्र यस्तो उल्लेखनीय सुधार ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरे। उनले गाउँपालिकाको प्राथमिकताको एजेन्डा नै शिक्षा भएको र यसमा सबै सरोकारवाला, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको समन्वयात्मक प्रयासले यस्तो उपलब्धि सम्भव भएको बताए।

 

विद्यालयगत नतिजा

बेलभज्याङ माध्यमिक विद्यालय                     – १००%

नगरडाँडा माध्यमिक विद्यालय                       – ९५.८३%

शारदा माध्यमिक विद्यालय                           – ९३.३३%

उदय माध्यमिक विद्यालय                            – ९२.३%

धर्मात्मा माध्यमिक विद्यालय                         – ८८.८८%

डेढ्गाउँ माध्यमिक विद्यालय                        – ८७%

नगरडाँडा माध्यमिक विद्यालय                    – ८०%

सिद्धि विद्याश्रम माध्यमिक विद्यालय            – २५%

सबैभन्दा राम्रो नतिजा बेलभज्याङ माध्यमिक विद्यालयले देखायो जसले १०० प्रतिशत विद्यार्थी उतिर्ण गराए।

 

नन ग्रेडिङमा समेत कमी

यस वर्ष बौदिकालीबाट केवल १६ जना विद्यार्थी मात्रै नन ग्रेडिङमा परेका छन्, जुन अघिल्ला वर्षको तुलनामा निकै घटेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष ओझाले आगामी दिनमा पनि शिक्षा सुधारलाई नै प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूलाई अझ गुणस्तरीय सिकाइ दिन सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *