

यी हुन् गण्डकी प्रदेशका कम र बढी बेरुजु भएका ५/५ स्थानीय तह !

पोखरा । महालेखा परिक्षकको कार्यालयले देशभरका विभिन्न स्थानी तहहरुको बेरुजुको तथ्यांक सार्वजनिक गरेको छ ।
तथ्यांकअनुसार गण्डकी प्रदेशका तीन स्थानीय तहमा हजार भन्दा कम बेरुजु रहेको भेटिएको छ ।
८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा सबैभन्दा कम बेरुजु गोरखाको चुमनुब्री गाउँपालिकामा ३४२ रुपैयाँ बेरुजु भेटिएको छ ।
त्यसपछि क्रमशः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ४०४ रुपैयाँ र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ६ सय ६ रुपैयाँ बेरुजु भेटिएको छ । त्यस्तै स्याङ्जाको बिरुवामा १३८३ रुपैयाँ बेरुजु देखिँदा मुस्ताङको थासाङ गाउँपालिकामा २२५१ रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै सबैभन्दा बढी बेरुजु देखिएका पाँच स्थानीय तहमा मनाङको मनाङ डिस्याङ गाउँपालिका, नासों गाउँपालिका, स्याङजाको हरिनास, मनाङको चामे र पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिका रहेका छन् ।
डिस्याङमा १३.६५ प्रतिशत बेरुजु देखिएको छ भने नासोमा ५.७ प्रतिशत र स्याङजाको हरिनासमा ४.६३ प्रतिशत र मनाङकै चामेमा ४.३८ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै पूर्वी नवलपुरको बौंदीकालीमा ४.३२ प्रतिशत बेरुजु भेटिएको छ ।