पूर्व सशस्त्र प्रहरी संघको १६औं बार्षिकोत्सव सम्पन्न

उपत्यकाबाहिर पहिलोपटक संघको बार्षिकोत्सव तथा साधारणसभा



पोखरा । नेपाल पूर्व सशस्त्र प्रहरी संघको १६ औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशअन्तर्गत नम्बर ४ बाहिनी हाताभित्र शनिबार सम्पन्न १६ औं वार्षिकोत्सव कार्यक्रम संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा सातै प्रदेश तथा सम्पूर्ण जिल्ला पदाधिकारीहरुको समेत उपस्थिति रहेको संघका बरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाले जनाए ।

यसअघि नेपाल पूर्व सशस्त्र प्रहरी संघको साधारणसभा राजधानीमा मात्रै हुने गरेकोमा यसपटक पहिलोपटक उपत्यकाबाहिर सम्पन्न भएको थियो ।

साधारणसभामा देशभरिका प्रदेश तथा जिल्ला प्रतिनिधि सहित २०० जना जति पूर्व सशस्त्र प्रहरीहरु, बहालवाला सशस्त्र प्रहरी समेतको उपस्थित रहेको । कार्यक्रममा नेपाली सेना नम्बर ३ अड्डा का बाहिनी पति सहायकरथि गौरव कुमार केसी, सशस्त्र प्रहरी बलका बाहिनीपति कालिदास धौवजीको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सेवामा रहँदा वीरगति प्राप्त सशस्त्र प्रहरीका परिवारजनलाई प्रमुख अतिथि आईजी अर्यालले सम्मान गरेका थिए । साथै उक्त अवसरमा जेष्ठ पूर्व सशस्त्र प्रहरीलाई सम्मान गर्ने कार्यक्रम अनुसार ७० बर्षीय पूर्व डिएसपी विष्णुबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।