बैंडी–देवघाट सडकखण्डमा एकैसाथ दुई पुल शिलान्यास



तनहुँ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दूरीको शालिग्राम करिडोरमा एकैसाथ दुई पक्की पुल निर्माण शुरुआत भएको छ । उक्त करिडोरअन्तर्गत ऋषिङ गाउँपालिकाका दुई खोलामा पक्की पुल निर्माण शुरु भएको हो ।

शालिग्राम लोकमार्गको चर्चा चले पनि बजेट अभावले काम सुस्तगतिमा अगाडि बढिरहेको सन्दर्भमा प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाइएको छ । यस वर्ष शालिग्राम करिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी–घिरिङ–देवघाट खण्डको सडक स्तरोन्नतिको काम दुई महिना अगाडि नै शुरु भइसकेको छ । घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलामा पक्की पुल निर्माणसमेत थालिएको छ ।

करिडोर लोकमार्गमा पर्ने दुई खोलामा एकैसाथ पक्की पुल शिलान्यास गरी निर्माण शुरु गरिएको छ । ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वालाखोलामा र ऋषिङ–५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दीखोलामा बन्ने पक्की मोटरेबल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।

पूर्वाधार विकास कार्यालयका अनुसार ज्वालाखोलामा २५ मिटर लामो र ८.४ मिटर चौडाको ओपन फाउण्डेशनको पुल बन्नेछ । आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । रु चार करोड २१ लाखको स्टिमेट गरिए पनि रु तीन करोड २१ लाख एक हजार ६३७ मा ठेक्का लागेको छ ।

लुम्दीखोलाको पुल पनि ओपन फाउण्डेशनमै बन्नेछ । ५० मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले रु पाँच करोड ५१ लाख ९२ हजार २४० मा ठेक्का सम्झौता गरेको ढुङ्गानाले जानकारी दिए । यो पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

स्थानीयवासी लक्ष्मण श्रेष्ठले करिडोर निर्माणले गाउँमा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताए । उनले सडक पुलसँगै गाउँमा खानेपानी, सिँचाइ र बिजुली बत्तीको आवश्यकता रहेको सुनाए । उनले भने, “सिँचाइको मात्रै व्यवस्था भयो भने यहाँका सुख्खा फाँटहरु हराभर हुनेछन् । आफ्नै उत्पादनले खान पुग्ने थियो ।”

आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले शालिग्राम करिडोर आसपासका स्थानीवासीयको जीवनस्तर उकास्न महत्वपूर्ण रहेको बताए । “प्रदेश सरकारले यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ”, उनले भने । पुल निर्माणको काम दु्रतगतिमा अगाडि बढाएर सम्झौता मितिभित्रै सम्पन्न गर्न मन्त्री गुरुङको निर्देशन छ । “समयमै काम सम्पन्न भएमा भुक्तानीका लागि प्रदेश सरकार तत्पर छ । काममा ढिलाइ भयो भने बजेट व्यवस्थापनमा समस्या हुन्छ”, उनले भने । विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने मन्त्री गुरुङको भनाइ थियो ।

सङ्घीयताको कारण विकास निर्माण तीव्रगतिमा अगाडि बढेको उल्लेख गर्दै मन्त्री गुरुङले प्रतिनिधिसभा भए पनि गण्डकीमा नेकपाकै सरकार रहने र विकासको गति नरोकिने दाबी गरे । जनताको आवश्यकता पूरा गर्न सरकार सदैव तयार रहेको उनको भनाइ छ ।