सुरक्षा निकायमा पलायनको क्रम बढ्दो, एक महिनामै नेपाली सेनाका यी १४ सिपाही भए ‘बेपत्ता’ ! (नामसहित)



काठमाडौं । पछिल्ला समयमा नेपालको सुरक्षा निकायबाट बिना जानकारी कार्यालयमा हाजिर नहुनेहरुको संख्या बढ्दो क्रममा देखिएको छ । यसरी बेपत्ता हुनेहरुमा प्रायः जसो तल्लो तहका कर्मचारीहरु रहने गरेको पनि पाइएको छ ।

यसै सन्र्दभमा पछिल्लो १ महिनाको तथ्यांकलाई हेर्दा तुलनात्मक रुपमा राम्रो मानिएको नेपाली सेनाबाट जागिर छाडेर बेपत्ता हुनेहरुको संख्या पनि तीब्ररुपमा बढ्दै गइरहेको छ ।

नेपाली सेनाका स्रोतका अनुसार करिब एक महिनामा मात्रै नेपाली सेनाबाट दर्जन बढी सिपाहीहरु बेपत्ता भएका छन् ।

स्रोतका अनुसार केही भागेरै बेपत्ता भएका छन् भने केही बिदामा गएर नफर्किनेहरु रहेको पाइएको छ ।

यसरी सम्पर्कविहीन हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका–४, तिरतिरेका सुजन बस्नेत रहेका छन्। उनी आफ्नो घरमा समस्या भएको भन्दै असार २२ गतेदेखि छुट्टी गएकामा थिए। त्यस्तै संखुवासभाकै सिलिङचोङ नगरपालिका–९, सिसुवाखोला घर भएका सिपाही दीपक कुलुङ पनि छन् । उनी असार ४ गतेबाट ३० दिन छुट्टीमा बसेका उनी कार्यालयमा उपस्थित हुनुपर्ने साउन २ गते उपस्थित नभई हालसम्म पनि हाजिर हुन आएका छैनन् ।

त्यस्तै बर्दियाका सिपाही प्रदीप सेढाईं कसैलाई जानकारी बेपत्ता भएका छन् । उनी हेटौंडानजिक सुनाचरी इमल्सन प्लान्टमा काज खटिएका थिए। वृत्ति विकासको तालिमका लागि छनोट भएका उनी साउन ३ गते भागेका हुन्। त्यस्तै एक दिन घर बिदामा छोडिएका सिपाही राजेन्द्र परियार पनि पुनः फर्किएका छैनन् ।

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–२, घर भएका सिपाही नवीनकुमार कँडेल १७ दिन छुट्टी लिएर असार १९ गते ब्यारेकबाट बाहिरिएकोमा हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीमा रिपोर्ट परेको छ।

त्यस्तै इन्द्रबक्स गणमा सञ्चालित सि.स. १७ बिल्लादार ग्रेड–तीन’ तालिममा संलग्न विशाल तामाङ साउन ७ गते बिहान भागेका छन्। त्यस्तै रामेछाप पकरबासका होमबहादुर कार्की घरायसी समस्या देखाएर असार १९ गतेदेखि साउन ७ गतेसम्म छुट्टीमा गए पनि हालसम्म फर्किएका छैनन् ।

त्यस्तै कपिलवस्तुका खेमराज पौडेल चुदाली साउन ७ गतेदेखि सम्पर्कमा आएका छैनन् । त्यसैगरी साउन ७ गतेबाट बिदामा बसेकी सिपाही ललिता न्यौपाने अहिलेसम्म पनि सम्पर्कमा नआएको बुझिएको छ। ८ दिन बिदा मागेर गएकी उनी अहिलेसम्म कार्यालयमा हाजिर हुन आएकी छैनन् ।

त्यस्तै, एक दिनको घर बिदामा साउन १२ गते सिपाही मिसन तामाङ पनि अहिलेसम्म फर्किएका छैनन् ।

घरबिदामै निस्किएका रौतहट राजदेवीका दुखा साह पनि अहिलेसम्म फर्किएका छैनन् । त्यस्तै अर्का सिपाही मिलन चौधरी स्मार्ट डिजिटल कार्डसहित भगौडामा परेका छन्।

यसैबीच सेनाका दुई जना उमेश केवट र अजयकुमार पासवान पेरिमिटरको तारबार नाघेर भागेका छन्। नवलपरासीको प्रतापपुरका केवट साउन १४ गते भागेका हुन्।

यसरी पछिल्ला दिनमा देशको रक्षार्थ सुरक्षा निकायमा जागिर खाइरहेकाहरुले यसरी बिना जानकारी सम्पर्कमा नआउनु भनेको सुरक्षा निकायभित्र तल्लो तहका कर्मचारीमाथि अन्याय हुन्छ वा भविष्यमा जीवनवृत्ती पूरा नहुने महसुस गरेर हो भन्ने बुझ्न सकिन्छ । त्यसैले सिनियर अधिकृत एवं सरकारले पनि तल्लो तहका कर्मचारीहरुलाई सम्बोधन गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि पछिल्ला दिनमा यस्ता गतिविधिहरु बढ्दै जान थालेको छ । बढ्दो महंगीका कारण खाएको जागिरबाट पाउने तलबले परिवार पाल्न र जीवनस्तर उकास्नका लागि सहायक सिद्ध नहुने भएपछि कतिपय तल्ला तहका कर्मचारीहरुले जागिरको निश्चित समयअगाडी नै जागिर छाड्ने गरेका छन् ।

त्यसको प्रत्यक्ष असर अबका केही महिनामा देख्न सकिने पनि एक पूर्वसुरक्षाअधिकृत बताउँछन् । उनी भन्छन्, ‘प्रहरीमा १६ वर्षमा पेन्सन पाइने सुविधा हुन्छ भनेर ठूलो आशा लिएर बसेका तल्ला तहका कर्मचारीहरुले अब विस्तारै जागिर छाड्दै बैकल्पिक उपाय खोज्न थाल्छन् ।’

नेपाली सेनामा सोही नियम हुँदा मासिक दर्जन बढीले जागिर छाड्ने गरेको पाइएको छ भने नेपाल प्रहरी र सशस्त्रमा अब त्यस्तो संख्या विकराल रुपमा बढ्न सक्ने पनि उनी बताउँछन् ।