‘गुड फ्राइडे’ एसएसपी पाललाई कारबाहीका लागि सिफारिस !



कैलाली । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) योगबहादुर पालमाथि कारबाही सिफारिस भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एसएसपी पालमाथि महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीका लागि प्रधान कार्यालयमा पठाएको हो ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रहरीले प्रारम्भिक छानबिन गरी पालमाथि कारबाही गर्न प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्यामसिंह चौधरी नेतृत्वको छानबिन समितिले घटनामा एसएसपीले दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको बताइएको छ ।

उनीमाथि गत जेठ १९ गते बिदामा जान लागेकी एक महिला हवल्दारलाई आफ्नो नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरस्थित निवासमा बोलाएर यौन दुर्व्यवहार आरोप छ ।

बिदामा घर जान लागेकी सहायक हवल्दारलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको थियो । एसएसपी पाललाई सोही दिन नै जिम्मेवारीबाट हटाएर छानबिन सुरु भएको थियो ।