लहानको आँपको ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गरी पठाइयो बजार

किसानले उत्पादन गरेको आँपको बजार प्रवर्द्धन गर्ने मेयर चौधरीको प्रतिबद्धता

लहान । गाउँगाउँमा किसानहरुले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ्ग, ग्रेडिङ्ग र प्याकेजिङ्ग गरी काठमाडौं पठाउन सुरु गरेको छ । आँपको हरेक प्याकेटमा ‘लहानको आँप’ भनेर ब्रान्डिङ्ग गरिएको छ ।

लहानको आँपको विश्वसनीयतामा वृद्धि गर्ने उद्देश्ले यो कार्यक्रम सुरु गरेको मेयर महेश चौधरीले सुनाए । ‘लहानको आँप भने बित्तिकै काठमाडौं पोखरा जस्ता सहरहरूमा ग्राहकहरू हुरुक्कै भएपनि समयभन्दा अगावै औषधिको प्रयोग गरेर व्यापारीहरूले गरिरहेको कमजोरी हटाउन नगरपालिकाले पहल थालेको छ,’आँपको खेती विस्तार गर्न यस वर्ष पनि आँपको बिरुवा लगाउन अनुदानमा बिरुवा वितरण गरिएको छ ।’ किसानहरुले उत्पादन गरेको आँप प्रवद्र्धन गर्न हामी सधैँ तत्पर रहेको मेयर चौधरीले सुनाए । आँप पठाउने कार्यक्रमको मेयर महेश चौधरीले उद्घाटन गरेका छन् ।

यो वर्ष ९० हजार केजी आँप पठाउने लक्ष्य रहेको कृषि संयोजक बद्री नारायण चौधरीले जानकारी दिए । पहिलो लटमा ४ हजार प्याकेट पठाउन थालेका छ ।  सरस्वती कृषि फार्मको साझेदारीमा यो सुरु भएको उनले सुनाए । ‘प्रति केजी प्याकेजिङ्गमा पाँच रुपैयाँ लागत हुदैछ । त्यसमा नगरपालिका र कृषि फार्म पनि साझेदारी गरेको छ,’ संयोजक चौधरीले भने, ‘नेपालभरि नै आँपको राजधानीको रूपमा चिनिने लहानको आँपको बजार व्यवस्थित हुन नसक्दा लहानको प्रतिष्ठामा आँच आउने महसुस गरेर यसको बजार व्यवस्थापन गर्न लागेका छौँ ।’

आँप विक्रीको लागि लहान र काठमाडौंमा ‘लहानको आँप’को स्टल स्थापना गरेको छ । स्टलमा पाँच र दश किलोको आँप प्याकिङ गरी राखिने जनाएको छ । बम्बई, मालदह, दसहरी, अमरपाली र कलकतिया आँपलाई अलग अलग प्याकेजिङ्ग गरिएको छ । व्यापारीहरुले विभिन्न विषादीको प्रयोग गरी पकाउने आँप स्वास्थ्यको लागि हानिकारक देखिएको चिकित्सकहरूको सुझाव समेत आएकोले व्यापारीहरू विषादी प्रयोग गरेको आँप बिक्री वितरण गर्न नपाउने गरी नीति अपनाउन सुरु गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *