संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा पाँच पत्रकार पुरस्कृत



लहान । सिरहाको लहानस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानले पाँच जना पत्रकारलाई नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाको लहान ५ मा सम्पर्क कार्यालय उद्घाटनसँगै सोमबार अपरान्ह प्रतिष्ठानले पत्रकारहरु मणिलाल विश्वकर्मा, फिरोज शेख, बीरेन्द्रप्रसाद नेपाल, महेश सिंह र धर्मेन्द्र पासवानलाई जनही १० हजार रुपैयाँ नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारले पुरस्कृत गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा लहान नगरका प्रमुख महेश प्रसाद चौधरीले नगद र सम्मानपत्रसहित पत्रकारहरुलाई पुरस्कृत गरेका हुन् । कोरोना महामारीको समयमा जनपक्षीय पत्रकारिताको माध्यमले समाज र राष्ट्रका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सुशासन, बहुलवादी समाज निर्माण, पारदर्शिता तथा अभिव्यक्ति स्वतन्त्रताको लागि पुरस्कार दिन पाउँदा प्रतिष्ठान पनि गौरवान्वित भएको प्रमुख चौधरीले बताए । ‘जनताको काम गर्ने क्रममा कमी कमजोरी भए पत्रकारहरुले औंल्याई दिनुस्’ प्रमुख चौधरीले भने ‘त्यसलाई सकारात्मक रुपमा लिएर सच्चिदै अगाडि बढ्नेछौं ।’

कार्यालय उद्घाटन तथा पुरस्कार वितरण समारोहमा महासंघका शाखा अध्यक्ष मनोज बनैता यादवले सामाजिक रुपान्तरणको अभियानमा कृयाशील पत्रकारहरुलाई पुरस्कृत गरेर थप जिम्मेबार बन्न प्रेरित गरेको चर्चा गर्दै नगरले उपलब्ध गराएको १० धुर जग्गामा भवन निर्माण लागि पनि सहयोगका लागि आग्रह गरे ।

पुरस्कार वितरण समारोहमा लहान नगरका प्रवक्ता तथा ६ नं. वडाध्यक्ष रमेश गौतम, ७ का वडाध्यक्ष रामअवतार यादवले पत्रकारहरुलाई तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गरी समाजलाई बाटो देखाउन आग्रह गरे।

कोरोना महामारीको समयमा गरिब बिपन्नलाई राहत बाँड्दा बाँड्दै स्वयम् संक्रमित भएर २२ जेठ २०७८ मा उपचारको क्रममा नगर प्रमुख चौधरीकी श्रीमती संगिता कर्माचार्यको निधन भएपछि उनले हरेक महिनाको २२ गते नगरको दलित बिपन्न बस्तीका असहाय, बिपन्न, गर्भवती सुत्केरीहरुलाई पोषिलो खानेकुरा, लत्ताकपडा वितरण गर्दै आएका छन् ।

अप्ठ्यारोमा परेका गरिब, बिपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई प्रतिष्ठानमार्फत् निरन्तर जारी राख्ने प्रमुख चौधरीले बताए ।