

पशुपतिमा झुन्डिएको अवस्थामा भेटिए सुरक्षाकर्मी

काठमाडाैं – पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।
कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन् ।