कालीगण्डकी करिडोरमा अर्को दुर्घटना, भिरबाट लरी खस्दा तीनको मृत्यु



नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट बुधबार बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा परी ट्रक चालक मकवानपुरको हेटौँडा–१७ का ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको खाँणले बताए ।

दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ ।