आफ्नै सवालमा आफैंले कार्यक्रम चलाउँदाको खुशीः बौद्धिक अपाङ्गता भएका स्ववकालतकर्ता भन्छन्, ‘आत्मबिश्वास बढेको छ’



काठमाडौं । अपाङ्गता भएका नागरिकको हक अधिकारका लागि पैरवीका सन्दर्भमा धेरै अन्तरक्रिया एवं गोष्ठी हुने गरेका छन् । दश प्रकारका अपाङ्गता मध्यको एक हो बौद्विक अपाङ्गता पनि । प्राय उनीहरुलाई धेरैजसो कार्यक्रममा अभिभावकले या अन्य सहयोगीहरुले लिएर आउने, कार्यक्रममा उनीहरुले दर्शक दीर्घामा बसेर अपाङ्गता अधिकारका बारेमा सुन्ने र अभिभावक या सहयोगीसँगै फर्कने गर्थे तर शुक्रवार काठमाडौंको बागबजारको हार्दिक होटलमा भइरहेको सजिलो सिकाईसम्बन्धी सेमिनारको दृश्य भने अलिक पृथक थियो । त्यहाँ बौद्विक अपाङगता भएका ६ जना सवैका आकर्षणका केन्द्र थिए । उनीहरु कार्यक्रम कसरी व्यवस्थित, मर्यादित र सफल बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर देखिन्थे ।

अतिथि स्वागत गर्नेदेखि समापन सम्मको गहन अभिभारा उनीहरु सामु थियो । आफ्नै मुद्दा विषयमा आफैले कार्यक्रम सञ्चालनको जिम्मेवारी पाउँदा हर्षित देखिन्थे । कार्यक्रम सञ्चालनको पाटोमा थिए शिव श्रेष्ठ र आयुष्मा मानन्धर, माला लगाएर स्वागत गर्ने जिम्मेवारी थियो लुजा र प्रशंसाको, स्वागत मन्तव्य राखिन शान्ती फुयाँलले, निश्चल केसीले कार्यक्रमको उद्व्ृेश्य माथि प्रकाश पारे, अर्का बौद्विक अपाङ्गता भएका सन्तोष जिसीले बौद्विक अपाङ्गताबारे परिचय दिए । आफ्नो जिम्मेवारी बहन गर्देगर्दा उनीहरुको मुहारमा देखिएको उत्साह अनि आत्मबिश्वासले उपस्थित अभिभावक अनि अन्य सवैमा खुशी छाएको देखिन्थ्यो । प्यानल छलफलमा ६ जना नै मञ्चमा बसे ।

No description available.

प्रमुख अतिथि एवं अन्य अतिथिसहित सहभागीहरुले राखेका विभिन्न जिज्ञासाको उनीहरुले अत्यन्तै उच्च आत्मविश्वासका साथ उत्तर दिए । उनीहरुले आजसम्मको यात्राका बारेमा, सरल भाषा सम्पादन समूह निर्माणको मर्मका बारेमा, बौद्विक अपाङ्गताका अभिभावक महासंघले गरेको सहयोगका सन्दर्भमा, सिबिएम ग्लोबल अनि पिपुल फस्ट टिमसगँको सहकार्यका सन्दर्भमा सहभागीले राखेको यावत जिज्ञासाको उत्तर दिए । कार्यक्रमको समापन गर्देै गर्दा उनीहरुले कार्यक्रम सञ्चालनको पाटोमा कहि कतै त्रुटि भएको भए क्षमा मागे र कार्यक्रम समापनको लागि अध्यक्षलाई आग्रह गर्दै बिदा भए । अर्थात उनीहरुले  कार्यक्रमलाई पूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गरे । यो एउटा जीवन्त उदाहरण थियो, बौद्विक अपाङगता भएका नागरिकलाई पनि अवसर दिईयो भने उनीहरुले सक्छन् भन्ने ।

शुक्रवार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सिबिएम ग्लोबलको सहयोगमा शुक्रवार हामीलाई पनि समावेश गर क्षमता विकास परियोजना अन्र्तगत सजिलो सिकाई सम्बन्धि सेमिनार कार्यक्रम सम्पन्न भएको छ  । बौद्विक अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरेर आयोजना गरिएको उक्त सेमिनारमा बौद्विक अपाङ्गता भएका नागरिकका लागि सजिलो सिकाईका विविध आयामबारे अपाङ्गता भएका नागरिकको अधिकारमा क्रियाशिल संघसंस्थाका प्रतिनिधी, राष्ट्रिय मानवअधिकार आयोग, बौद्विक अपाङ्गताका अभिभावक महासंघ नेपाल र स्ववकालतकर्ताका विचमा सजिलो सिकाईका विधि, चुनौति र आगामी कार्ययोजनाका विषयमा छलफल भएको हो ।

No description available.

बौद्विक अपाङ्गता भएका व्यक्तिहरु स्वयंले सञ्चालन गरेको कार्यक्रममा बौद्विक अपाङ्गता भएका नागरिकको सिक्न, जान्न र बुझ्न पाउने नागरिकको अधिकारलाई सुरक्षित गर्नका लागि सिकाई प्रक्रियालाई कसरी सरल, सहज बनाउँदै उनीहरुको पहँचमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

बौद्विक अपाङ्गता भएका व्यक्तिहरु पनि अवसर पाए सक्षम छन भन्ने उदाहरण उनीहरु स्वयंले सञ्चालन गरेको कार्यक्रम भएको सहभागीले प्रतिक्रिया दिएका थिए । बौद्विक अपाङ्गता भएका नागरिकपनि स्ववकालतकर्ताका रुपमा नेतृत्व गर्न सक्ने जीवन्त उदाहरणको रुपमा उक्त सेमिनारमा उनीहरुले देखाएको क्षमताले पुष्टि गरेको वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव नवराज सापकोटाले आयोगलाई सवैखाले अपाङ्गता भएका नागरिक लागि पहँचयुक्त बनाउने प्रयासको थालनी गरिसकेको बताए । उनले राज्यसंयन्त्रका सवै इकाईलाई अपाङ्गतामैत्री बनाउन आवश्यक नीतिगत परिवर्तनका लागि आयोग पैरवी गर्न सदा तत्पर रहने उल्लेख गरे । बौद्विक अपाङ्गता भएका नागरिकको अन्य नागरिक सरह बुझन, सुन्न, पढन र हेर्न पाउने अधिकारको रक्षार्थ आयोगले सरोकारवाला सबै पक्षसँग हातेमालो गरेर काम गर्न तयार रहेको धारणा सापकाटोका थियो ।

कार्यक्रममा बौद्विक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु वस्नेतले स्ववकालतकर्ताका रुपमा ६ जना बौद्विक अपाङ्गता भएका व्यक्तिले देखाएको क्षमता करिव दश वर्षको अथक मेहनेत र योजना पश्चातको रचनात्मक परिणाम भएको बताए । अवसर पाए बौद्विक अपाङ्गता भएका व्यक्तिहरुले पनि कुशलतापूर्वक अन्य नागरिकसरह कार्यसम्पादन गर्न सक्छन भन्ने उदाहरणको रुपमा कार्यक्रम सञ्चालनको कौशलतालाई लिन सकिने अध्यक्ष वस्नेतको धारणा थियो ।

कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धिताल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी महिला उपाध्यक्ष अनिता घिमिरेले बौद्विक अपाङ्गता भएका व्यक्तिका थप सम्भावनाहरुको पहिचान गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै अगाडि बढाउन सकेमा उनीहरुको आत्मसम्मानको रक्षा हुन सक्ने बताएका थिए ।

बौद्विक अपाङगता भएका व्यक्तिहरुकै समूह सरल भाषा सम्पदान समूह अर्थात  इजी टु रिड चेकिङ गु्रप निर्माण गरेर उनीहरुले सबैलाई बुझन सरल भाषा र चित्रमा सामाग्री तयार गर्ने गर्छन् । बौद्विक अपाङ्गताका अभिभावक संघ र राष्ट्रिय अपाङ्ग महासंघसँग मिलेर यो समूहले काम गर्ने गरेको छ । हामी को हौं भन्ने विषयको भाषा तथा श्रव्य दृश्य समाग्री समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । सरल भाषामा सामाग्री बनाउँदा के के कुरा थाहा पाउनुपर्छ भन्ने विषयमा कार्यक्रममा सो सामाग्रीमा सुझाव दिईएको छ ।

No description available.

भाषा सवैले बुझ्ने र सजिलो हुनुपर्ने, वाक्यहरु छोटा हुनुपर्ने, सामाग्रीहरुमा सजिला चित्रको प्रयोग गर्नुपर्ने, चित्र बाँया र अक्षर दायाँ भागमा राख्नुपर्ने, अंग्रेजी अक्षरको फन्ट साइज कम्तीमा १६ हुनुपर्ने र नेपाली अक्षर फन्ट साईज कम्तीमा २० हुनुपर्ने सुझाईएको छ । आगामी दिनमा सरल भाषा सम्पादन समूहलाई विस्तार गर्दै लाने समेत उनीहरुले कार्यक्रममा बताएका थिए । आफैले सम्पूर्ण रुपमा कार्यक्रम सञ्चालन, स्वागत देखि सहभागीले राखको ज्ञिज्ञासाको उत्तर दिदा उनीहरुले आफुहरु खुशी भएको र आत्मविश्वास बढेको बताएका थिए । बौद्विक अपाङ्गता भएका नागरिकलाई पनि अवसर दिदै रोजगारीमा उनीहरुको क्षमताका आधारमा व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग रहेको थियो ।