मन्त्री भएपछि पहिलोपटक जंगी अड्डा पुगे रक्षामन्त्री उप्रेती



काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाको मुख्यालय, जंगी अड्डाको निरीक्षण गरेका छन्। रक्षामन्त्रीमा नियुक्त भएपश्चात उप्रेतीले पहिलोपटक शुक्रबार जंगी अड्डाको भ्रमण गरेका हुन्। निरीक्षणका क्रममा उनले नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिए।

मन्त्री उप्रेतीसमक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरुको बारे जानकारी गराइएको थियो।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्रीलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जंगी अड्डामा स्वागत गरे।

उनले नेपाली सेना सम्पूर्ण नेपालीका आफ्नै छोराछोरीहरु सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गर्दै सेनाले विधिसम्मत ढंगले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गरिरहेको बताए।

बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरुबाट सिर्जित चुनौतीहरु सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको एवं त्यसमा नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त हुँदै आएको सहयोगप्रति प्रधान सेनापति शर्मा कृतज्ञता प्रकट गरे।

उनले यस्तो सहयोगको निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे। सरकारले सेनालाई सुम्पिएका जिम्मेवारी एवं संविधानप्रदत्त दायित्व निर्वाह गर्दा विद्यमान कानुनी प्रावधान पूरा गर्दै अगाडि बढ्नु पर्ने मान्यतामा आफूहरू अडिग रहेको प्रधान सेनापति शर्माले बताए।

रक्षासचिव किरणराज शर्माले विपद् व्यवस्थापन लगायत नेपाली सेनाको समग्र क्षमता विकास गर्ने एवं नेपाली सेनालाई आत्मनिर्भर बनाउँदै लैजाने कुरामा रक्षा मन्त्रालय र सरकारको विशेष जोड हुने बताए। त्यसका लागि श्रोत साधनको व्यवस्था तथा आवश्यक कानुनी प्रावधान तयार गर्ने कार्यमा नवनियुक्त रक्षामन्त्रीबाट विशेष अग्रसरताको अपेक्षा गरेको उल्लेख गरे।

नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिकाको मन्त्री उप्रेतीले प्रशंसा गरे। रक्षामन्त्री उप्रेतीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्वहरु निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रुपमा रहेको बताए।