शिला संरक्षण एवं वस्ती व्यवस्थापनबारे सेतीवेणीमा अन्तरक्रिया

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगम स्थलका रुपमा रहेको प्रसिद्व धार्मिकस्थल शिला शालिग्रामको संरक्षण, सेतीवेणी बजार एवं वस्ति व्यवस्थापनका सन्दर्भमा शुक्रवार सेतीवेणीमा एक अन्तरक्रिया कार्यक्रम भएको छ ।

शिला शालिग्राम एवं वस्ती संरक्षणका लागि रणनीति तयार गर्न स्याङ्गजा, पर्वत र गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीनै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु भट्टराई, गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा, पर्वतको पैँयूँ गाउँपालिकाकी उमप्रमुख यामकुमारी राना तथा स्थानीय वडा प्रतिनिधि उपस्थिति रहेको थियो ।

उक्त छलफल एवं अन्तरक्रियामा ऐतिहासिक धार्मिक सम्पदा शिला शालिग्राम एवं सेतीवेणी बजार एवं वस्ती संरक्षणका सवालमा  तथ्यगत विवरणका आधारमा गुरुयोजना निर्माण गरेर प्रदेश तथा संघीय सरकारसँग आवश्यक बजेट बिनियोजनका लागि लविङ गर्ने निष्कर्ष निकालेको पैँयूँ गाउँपालिकाकी उपप्रमुख याम कुमारी रानाले बताईन् । वस्ती एवं शिला संरक्षणको मूल दायित्व विशेषत सो क्षेत्रसँग जोडिएका स्थानीय सरकारको रहेको त्यसका लागि ठोस कार्ययोजनाका साथ अगाडि बढनुपर्ने साझा निष्कर्षमा पुगेको पैँयूँ गाउंपालिकाकी उपप्रमुख रानाले बताईन् ।

बर्षेनी बर्षाका बेला बस्ती डुबानको जोखिमलाई अन्त्यका लागि बैज्ञानिक एवं सर्वस्विकार्य समाधानको कार्ययाजनाको खाँचो अन्तरक्रियामा औल्याईएको उपप्रमुख रानाको भनाई छ ।

तीन जिल्लाको संगम स्थलका रुपमा रहेको उक्त सेतीवेणी एवं शिला शालिग्राम क्षेत्र पर्वतको बिहादी गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकासँग जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *