

बाढी पिडितका लागि रोटरी क्लबले गरे राहत हस्तान्तरण

काठमाडौं । दोलखाको बिगु गाउँपालिकाका सिंगटी बजार तथा चिलङ्खाका बाढी पिडितहरुका लागि चारवटा रोटरी क्लवहरुले संयुक्त रुपमा खाद्यान्न, लत्ताकपडा, आक्वा बक्स र सेनेटरी प्याड प्रदान गरेका छन् ।
रोटरी क्लव अफ ज्ञानेश्वर, रोटरी क्लब अफ दरबारमार्ग, रोटरी क्लव अफ धुलिखेल र रोटरी क्लव अफ बाग्लुङले सोमबार काठमाडौंको एट्टिक रेष्टुरेण्टमा रोटरी क्लव अफ दरबारमार्गको रोटरी कम्युनिटी क्रप्स, आरसीसी बुलुङ दोलखाका अध्यक्ष डबल बहादुर गुरुङलाई सो राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
गएको श्रावणमा आएको बाढी पहिरोका कारण सो ठाउँका ४३ घरधुरी प्रभावित भएका थिए भने ११ घर परिवार पूर्ण रुपमा विस्थापित भएका थिए । तिनै विस्थापित परिवारका लागि थोरै भएपनि राहत पुगोस् भन्ने उद्वेश्यले सो सामाग्री प्रदान गरिएको रोटरी क्लव अफ ज्ञानेश्वरकी अध्यक्ष रसुमिला श्रेष्ठले बताईन् ।
रोटरी क्लव अफ ज्ञानेश्वरले खाद्यान्न तथा भाँडाकुडा, रोटरी क्लव अफ दरबारमार्गले ११ थान आक्वा बक्स, रोटरी क्लब अफ बाग्लुङले लत्ताकपडा र रोटरी क्लव अफ धुलिखेलले सेनेटरी प्याड प्रदान गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा चारवटै क्लवका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।