

इन्जिनमा धुँवा देखिएपछि श्री एयरलाइन्सको विमानले गर्यो आकस्मिक अवतरण

नेपालगञ्ज । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।
उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए ।
उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।