गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पर्सि राति मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।