राज्यमन्त्री वलीको ‘रौद्ररूप’, सरकारी गाडी चढेर प्रेमीकी श्रीमती र छोरीमाथि हातपात



दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले सरकारी गाडीमा घरमै गएर एक महिला र बालिकालाई कुटपिट गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मिना र उनकी छोरीमाथि आक्रमण गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको छ ।

राज्यमन्त्री वलीले हातपात गरेको खबरपछि स्थानीयले बस्नेतको घरमा नै उनलाई थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घरमा पुग्दा भने एकराज त्यहाँ थिएनन् ।

मन्त्री वली एकराजको घरमा पुगेर बाहिरबाटै ‘गेट खोल्’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन् । उनका अनुसार चिच्याएपछि गेट खोलिएको थियो ।

‘बिहानै गेटमा आएर हल्लाउँदै गेट खोल् भन्दै चिच्याइन्,’ मीनाले भनिन्, ‘बाहिरबाट ढोका खोल भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ मेरो एकराज खोई भन्दै कोठाको पर्दाहरु तानेर फालिदिइ । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिइ । मेरो लुगा पनि च्यातिदिइ । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे । एकराज मेरो पोइ हो भन्दै चिच्याएकी थिइ ।’