

बालेन र सुनिताको जितको आधिकारिक घोषणा गर्दै निर्वाचन आयोग

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र (बालेन) साह निर्वाचित भएका छन्। यस्तै उपमेयरमा सुनिता डंगोल निर्वाचित भएकी छन्। महानगरपालिका मेयरका लागि बालेनले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने उमेयरमा निर्वाचित डंगोल नेकपा एमालेकी उम्मेदवार हुन्।
बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएको निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उल्लेख छ। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याउन सकिन भने एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वीको भन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका छन्। स्थापितको मत सिर्जनाको भन्दा २ सय २४ मत कम पाएका छन्। स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत पाएका छन्। उनको आँखीझ्याल चुनाव चिह्नमा थियो।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६ सय १२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। मतको आधारमा सुनिता काठमाडौँ महानगरमा लोकप्रिय ठहरिएकी छन्।