

मेलम्ची बन्द गर्न बजेट कुर्दै सरकार !

हेलम्बु । काठमाडौं उपत्यकामा गत बैशाख ११ गतेदेखि वितरण भएको मेलम्चीको खानेपानी सरकारले आगामी आर्थिक वर्ष २०७९–८०को बजेट सदनमा प्रस्तुत गरे लगत्तै बन्द हुने भएको छ ।
हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण गर्ने मुहानमा मेलम्ची नदीको धमिलो पानीसहित लेदो समेत आउन थालेपछि सुरुङमा गेट लगाएर पानी पथान्तरण बन्द गर्न लागिएको हो ।
आयोजनाको हेडवक्र्स क्षेत्रको स्थलगत निरिक्षण र आयोजनाका प्राविधिक कर्मचारीहरुको सुझावपछि संचारकर्मीहरुसँग बोल्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले आफ्नो चाहना मेलम्चीको पानी सुरुङमा पथान्तरण कार्य रोक्ने नभए पनि प्राविधिक र विज्ञहरुको सुझाव अनुसार मनसुन सक्रिय भएसँगै मेलम्ची नदिमा पानीको बहाव बढ्न थालेकाले सुरुङको गेट अब जुनसुकै बेला पनि बन्द गरिने बताएका हुन् ।
उनले मेलम्ची नदीको पानी सुरुङबाट विपरित दिसातर्फ डाइभर्सन गरी सुरुङमा पानी पथान्तरण गरिने अस्थायी सुरुङको गेट, ३८ नम्वर गेट र ९ नम्वर गेट बन्द गरिने बताएका हुन् । मनसुन शुरु भएसँगै गत वर्षको जस्तै वाढी आएमा आयोजनामा कुनै क्षति नपुगोस भन्ने उदेश्यले पूर्वतयारी स्वरुप गेट बन्द गर्न लागेको मन्त्रीले बताए ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा नआए पनि बागमतिको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पठाउनको लागि खरिद प्रक्रिया पुरा गरी ठेक्का लागि सकेको मन्त्री चौधरीले बताए । उनले बागमतिबाट थप ५ करोड लिटर पानी काठमाडौमा वर्षायाममा वितरण गर्ने तयारी भएको बताए ।
‘मेलम्चीको पानी वितरण बन्द गर्नासाथ थप ५ करोड लिटर पानी बागमतिको स्रोतबाट पूर्ति गर्नेछौं’, मन्त्री चौधरीले भने ‘आगामी वर्षमा १५ करोड लिटर पानी सिस्नेरी जलाधार क्षेत्र, ठोस्ने र महादेव खोलाबाट काठमाडौमा वितरण गर्ने योजना छ ।’
जल तथा माैसम विज्ञान विभागले नेपालमा जेठ १८ गतेपछि मनसुन शुरू हुने बताएकाेले त्यसलाइ ध्यानमा दिँदै बजेट भाषणपछि मात्र पानी पथान्तरण कार्य बन्द गर्दा उपयुक्त हुन्छ कि हुन्न भनी मन्त्री चाैधरीले स्थलगत अध्ययनकाे क्रममा प्राविधिक र विज्ञ तथा इन्जिनियरसँग सल्लाह मागेका थिए ।
उनीहरूले थप वर्षा नभए वा पानीकाे लेबल अझ नबढेमा तीन वा चार दिनसम्म पर्खन सकिने बताएकाे स्राेतले जनायाे ।