बौंदीकाली ३ मा नेकपा एमाले विजयी, डेढगाउँमा पनि जित नजिक



बौंदीकाली । नवलपुरको बौंदीकाली वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचनपछि भएको मतगणनामा वडाध्यक्षका उम्मेदवार तेजबहादुर झेडीले ६२० मत ल्याएका छन् भने प्रतिद्वन्द्वी कुलबहादुर ठाढाले ५१९ मत प्राप्त गरेका थिए ।

यससँगै नवलपुरको बौंदीकाली गाउँपालिकाका चार वटा वडामा मतगणना सम्पन्न भइसकेको छ भने वडा नं. २ डेढगाउँको मतगणना अन्तिम चरणमा छ । वडा नं. २ मा जम्मा १९३२ मत खसेकोमा हालसम्म १३५० मत गन्दा वडाध्यक्षमा नेकपा एमालेका श्याम श्रेष्ठ ४५६ मतले अगाडि रहेका छन् ।

अहिलेसम्म घोषित परिणामअनुसार बौंदीकालीको ६, ५, ४ र ३ वडामा मतगणना सम्पन्न भइसकेको छ । यी चारमध्ये नेपाली कांग्रेसले २ र नेकपा एमालेले २ वडामा प्यानलसहित जित हात पारेको छ ।

वडामा नं. ६ मा नेपाली कांग्रेसका खुम बहादुर सारूले ७२१ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी पुर्ण थापा मगरले ६२१ मत ल्याएका छन् ।

त्यस्तै वडा नं. ५ मा नेकपा एमालेका खिम बहादुर थापा खरू मगर ४६२ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका  ओम बहादुर अस्लामी ३७५ मतका साथ पराजित भएका छन् ।

वडामा नं. ४ मा नेपाली कांग्रेसका मनबहादुर सारूले ८६८ मत ल्याएर जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी मोहनबहादुर सारूले ३८६ मत ल्याएका छन् । विजयी सारू यसअघिका पनि वडाध्यक्ष थिए । यी तीनवटै वडामा प्यानलसहित जित हात पारेका हुन् ।

अहिलेसम्मको मतगणनाअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रकाश ओझा २३ मतले अगाडि रहेका छन् । उनले २९७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका केबी रानाले २९५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी डिलकुमारी सारुले ३०६५ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसकी धनकान्ती घिमिरेले २८४९ मत ल्याएका छन् । त्यस्तै माओवादीका टंक पुलामीले ५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार कृष्ण पराजुलीले खाता खोल्न सकेका छैनन् ।