

मेयर दाबेदार पाण्डेमाथि उम्मेदवार कुन्साङ लामाद्वारा आक्रमण

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका प्रमुख दाबेदार रोशन पाण्डे कुटिएका छन् । उनीमाथि कांग्रेसका नमोबुद्ध सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् । आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।
काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।
कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ । घाइते पाण्डेले आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको बेला एक्कासी कुन्साङ लामाले नजिकै आएर हात हालेको बताए ।
‘उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मुक्का हान्नुभयो’ पाण्डेले भने, ‘उहाँले हानेपछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हिर्काए ।’
पाण्डेले आफूलाई किन लामाले हिर्काए भन्ने थाहा नभएको बताए । कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् । अहिले प्रहरी पनि घटनास्थलमा पुगेको छ ।
पछिल्लो समय पाण्डेको पक्षमा जनमत बढ्दै गएपछि दबाबमा आएर लामाले हतास मानसिकता बनाई आपराधिक घटाएको हुनसक्ने नमोबुद्धका एक कांग्रेस नेताले बताए । उनले भने, ‘पछिल्लो समय युवा नेता पाण्डेको पक्षमा नमोबुद्धमा जनमत बढ्दै गएको अवस्था थियो, आँफैं सभापति भएर टिकट अरुलाई नदिने अनेक प्रपञ्च रचेका लामाले आखिर आक्रमण नै गरेछन् ।’
नमोबुद्ध नगरपालिका कांग्रेस सभापति लामाले कांग्रेसबाट मेयरमा आफूले नै टिकट पाउने दाबी गरी अन्य आकांक्षीलाई पाखा लगाएका थिए ।